Monday, August 26, 2013

रामेश्वर खनालको राजनीति प्रवेशले जगाएको आशा

4 comments
पूर्व अर्थसचिव रामेश्वर खनाल नेपाली कांग्रेसमा प्रवेश गरे लगत्तै सामाजिक सञ्जालमा देखिएका मिश्रित प्रतिक्रियाहरू हेरेपछि मलाइ केहि कुरा लेख्न मन लाग्यो । हामी दुवै खनाल पाल्पाली भएकाले 'प्रोक्सिमिटी फ्याक्टर' ले पनि लेख्न घच्घच्याएको होला ।
मेरो सिंगै उमेरभन्दा अझ १० वर्ष लामो निजामती सेवामा रहेर क्षमतावान, इमान्दार र व्यवसायिक छवि बनाएका खनाल चुनावको मिति घोषणा भइसकेको समयमा कुनै राजनीतिक दलमा प्रवेश गर्दा विभिन्न टीका टिप्पणी हुनु जायज हो । सहि मान्छे राजनीतिमा लागेर आफ्नो छवि धमिल्याउने काम गरेको भन्दै उहाँको आलोचना गर्नेसँगै राजनीतिमा लागेकोमा खुसी व्यक्त गर्दै स्वागत गर्नेहरुको दुइ खेमामा ठूलै भीड लागिसकेको छ । मलाइ भने कुनै पार्टी विशेषमा उहाँको प्रवेशले कस्तो प्रभाव पर्छ भन्दा पनि समग्र राजनीतिमा उहाँको प्रवेशले दिएको सन्देश महत्वपूर्ण लाग्यो  ।
म अलि बुझ्ने भएदेखि देशको राजनीति र राजनीतिक दलका गतिविधी हेर्दा "पोलिटिक्स इज डर्टी गेम" जस्तो लागेको छ । 'फोहोरी राजनीति' भन्दै यसदेखि टाढा रहन खोज्ने म स्वयं र मेरा समकालीन युवाहरुमा खनालको पार्टी प्रवेशले राम्रो सन्देश दिएको छ । त्यसो त नेपाली राजनीतिमा राम्रा मान्छे हुदै नभएका होइनन तर देशको पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा भएका राम्रा मान्छेहरु समेत नराम्रोमा गनिन थाले अनि समग्र राजनीति नै फोहोरीहरुको जमघट हुने थलोको रुपमा बुझ्न थाल्यो मेरो पुस्ताले । मेरा १० जना साथीहरूमध्ये ६ जना राजनीतिको कुरा गर्न चाहदैंनन्, बाँकी ४ पनि राजनीति गर्ने इच्छा राख्दैनन् ।
देशको लामो संक्रमण र अस्थिर राजनीतिक अवस्थाले देशमा आफ्नो भविष्य नदेखेर विदेश पस्ने अनि उतैको पीआर लिने उद्देश्यले पासपोर्ट बनाएका मेरा साथीहरुको जमात पनि निकै ठुलो भैसक्यो । यस्तो अवस्थामा अवको ३० वर्ष पछि नेपालमा सक्रिय राजनीति गर्ने मान्छेहरुको खडेरी लाग्ने देख्छु । मेरो पुस्तामा राजनीति प्रति यति वितृष्णा छ कि हामी राष्ट्रिय समाचार सुन्दै सुन्दैनौ किनकि ती सधै एकै प्रकारका हुन्छन् । हाम्रो लागि नेता भन्या रिस पोख्ने अनि गाली गर्ने साधन मात्र हुन् । मेरो पुस्ता बरु मध्यपूर्वको आन्दोलनबारे धेरै जान्दछ तर उसलाई आफ्नो देशको राजनीतिक अवस्थाबारे यही पुस्तामा चलेको शब्दमा भन्दा ‘बाल’ छ ।
किन नहोस् पनि, 'एक जुगमा एक पटक' भन्दै इतिहासमा एकपटक मात्र हुने भनिएको संविधानसभा हाम्रै अगाडी फेल भयो! सबैभन्दा धेरै आशा गरिएका पीएचडी डाक्टर प्रधानमन्त्रीले समेत राम्रो काम गर्न सकेनन बरु उल्टै झन् निराश पारेर छाडे । हाम्रा युवा नेताहरु राम्रा काम र कुरा गरेपछि ६० कटेका 'युवा' नेतृत्वका अगाडि 'बालक' नै रहे । सार्वजनिक खपतका लागि र मिडियामा समाचार बन्न जे पनि बोल्ने तर काम नगर्ने नेताहरुलाइ देख्दा मेरो पुस्ता 'इरिटेट' हुन्छ । त्यसैले तिनै नेताको सवारीको नाममा हुने लामो ट्राफिक जाम देख्दा हामीलाइ राजनीति देखेर घृणा जाग्छ । अनि लोडसेडिंग, महंगी, प्रदूषणको मारमा परेका हामी युरोप, अमेरिका र अस्ट्रेलियामा हाम्रो भविष्य खोज्न बाध्य हुन्छौं । उमेरले हाम्रा 'अंकल' पुगेकाहरू विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्दै राजनीतिक दलका नेताको कठपुतली र पिछलग्गु भएर हिडेको देख्दा हामीमा राजनीति प्रति खराव भावना आउनु स्वभाविकै हो ।
मजस्ता नवयुवकहरूमा राजनीतिप्रति रहेको वितृष्णा हटाउने एउटा उपाय खनालजस्तै विगतमा राम्रो छवि भएका कुशल व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु पनि हो । राजनीतिक दलले यस्ता जनताको माझमा राम्रो छवि बनाएकाहरूलाइ क्षमता र अनुभवअनुसार उचित स्थान दिन सके भने समाजमा राम्रो सन्देश जान्छ । यसले गर्दा हामी कलेज पढ्ने एक बीसे उमेरकाहरू समेत राजनीतिमा लाग्न प्रेरित हुन्छौं । अहिलेका ठुला कुरा मात्र गर्ने नेताको हामीलाई विश्वास छैन । उनीहरुको जात्रा हेरेर हामी हैरान भइसक्यौं । हामी राजनीतिका ठुला कुरा बुझ्दैनौं । हाम्रो लागि राम्रो काम गर्ने नेता को खाँचो छ । त्यसैले हाम्रो मुलुक प्राकृतिक स्रोत र अरु साधनले सम्पन्न हुँदाहुँदै पनि राजनीतिक नेतृत्व सक्षम र इमान्दार नभएकाले पछि परेको निष्कर्ष निकाल्दै राजनीति प्रवेश गरेका खनालजस्तै सक्षम अनि आफ्नो क्षेत्रमा राम्रो काम गरेका र देशको अवस्था राम्रोसँग बुझेका ब्यक्तिहरुको राजनीतिमा प्रवेश हाम्रा लागि प्रेरणादायी हुनेछ ।
Photo Source: Ekantipur.com

4 comments:

  1. हुन त बाबुराम दाई ले पनि ईन्द्रको दरबार बनाउछु भनेका थिए तर जुन जोगी आए पनि ।।।।।।।
    भनेर देखाइदिये
    एसरी यो स्पस्ट छ कि
    रमेशवोर खनालले खै हेरौ
    युग मा एकचोट हुने भनेको ३ चोटि भो
    तर एदी सन्बिधान सभा बिघट्न भएको भये तेस्ले गरेको काम पनि निस्क्रिये हुनुपर्ने जस्ताइ
    हाम्रो मुलुक गण्तन्त्र बनाको तेइ सभा ले हो तर
    तेस्को अस्तित्व छैन भने
    कसरी मैले म गणतान्त्रिक मुलुक को जनता भन्ने????????????

    ReplyDelete
  2. आशा गरौ खनाल जस्तै ब्यक्तिहरु को राजनीति प्रवेशले अब देशमा परिबर्तन आउला

    ReplyDelete
  3. यति सानै उमेरमा यति उत्कृष्ट विचार आहा !...............लेख्दै जाउ,......... ............... ,पढ्दै जाउ
    गहन अद्ध्ययनले मान्छेमा थप निखार ल्याउछ भन्छन .............पढ्दै जाउ ,लेख्दै जाउ ..................... तिमीलाई मेरो आशिर्बाद छ ..............

    ReplyDelete